Pages

Thursday, September 22, 2011

२ घन्टा लोडसेडिङ घटाउन पुग्ने

काठमाडौ, आश्विन ६ - मनसुनी वर्षा बढी भएकाले विद्युत् प्राधिकरणको एकमात्र 'ब्याक अप' कुलेखानी आयोजनाको जलाशय (इन्द्र सरोवर) पूरै भरिएको छ । वर्षायाममा जम्मा भएको पानीबाट पिक आवर (सबभन्दा बढी माग हुने समय) मा विद्युत् निकाल्न मिल्ने मुलुकको एकमात्र जलाशययुक्त आयोजनाको जलाशय चार वर्षपछि पहिलोपटक भरिएको हो । जलाशय भरिएकाले थप दुई घन्टा लोडसेडिङ घटाउन सक्ने क्षमता बढेको छ ।

चरम विद्युत् माग हुने पिक आवरमा कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ वाट बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानीको जलाशय इन्द्र सरोवरमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा हुने क्षमता छ, जलाशय बुधबारसम्म पूरै भरिइसकेको छ । सात किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको इन्द्र सरोवरको सतहबाट पूर्ण क्षमता अर्थात् ५० मिटर उचाइसम्म पानी जम्मा भएको हो ।

ऊर्जा सचिव एवं विद्युत् प्राधिकरणका अध्यक्ष बालानन्द पौडेलले कुलेखानीको जलाशय भरिइसकेकाले थप पानी जम्मा गर्न ओभर फ्लो हुने दक्षिणी बाँध साइडमा बालुवाको बोरा हाल्न आयोजनाका कर्मचारीलाई निर्देशन दिइसकेका छन् । यस वर्षको मनसुन अझै जारी छ ।

प्राधिकरण स्रोतका अनुसार कात्तिक मसान्तसम्म कुलेखानीको जलाधार क्षेत्रबाट जलाशयमा पानी जम्मा भइरहन्छ, त्यतिबेलासम्म बोरा हालेर थप एक/दुई मिटर पानी जम्मा गर्न सकिन्छ, त्यसबाट थप एक करोड युनिटभन्दा बढी बिजुली निस्किन्छ । २०६४ मा पनि कुलेखानीको जलाशय भरिए पछि बालुवाको बोरा हालेर थप पानी जम्मा गरिएको थियो ।

भरिएको कुलेखानीको जलाशयबाट २३ करोड बिजुली उत्पादन हुन्छ, बोरा हालेर थप जम्मा गरिएको पानीबाट थप बिजुली उत्पादन हुन्छ । कुलेखानीबाट विद्युत्को बढी माग हुने हिउँददेखि जेठसम्म र रन रिभर आयोजनाबाट कम उत्पादन हुने बेलामा बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानी भरिएका कारण हिउँददेखि जेठसम्म हुने भनिएको पूर्वघोषित १६ घन्टाको लोडसेडिङमा २ घन्टा घटाउन सहयोग पुग्ने जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।